
त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्। उनीहरुको त्यस्तै जालझेल अनि शंकास्पद कामहरुका कारण नै ब्रिटिशहरुले दिक्क मानेर नेपालविरुध्द आक्रमण गरेका थिए। सन् १८१४ मा। (फ्रेञ्च र बेलायत त्यतिबेला आफ्नो राज्य सीमा विस्तार गर्ने क्रममा युध्द भएका देशहरु हुन्, जसका फ्रेञ्चहरु पराजित भएका थिए। त्यसैले फ्रेञ्चहरुले ब्रिटिशहरुको पक्ष लिएर इतिहास लेख्दैनन्) यसका कारण दुई वर्षसम्म नेपाल इस्ट इन्डिया कम्पनीसित लड्नु परेको थियो भने नेपालको तीन भागको एक भाग भूभाग समेत गुमाउनु पर्यो। नेपालको भूभाग गुम्नुको गल्ती पनि उनीहरुकै थियो। त्यसैले सिल्भाँ लेभीले भनेको- गोरखा भनेका स्पष्ट वक्ता बोल्नका लागि, तर बेइमान जाति हुन्। धोका दिने काममा निकै माथि। आधुनिक नेपालका निर्माता भनिएका पृथ्वीनारायण शाहको राज्य गोरखाका बारेमा एक पटक विचार गरेर हेरौँ- इतिहासकार सूर्यविक्रम ज्ञवालीका अनुसार गोरखा एकदम सानो र आर्थिक रुपले एकदम कमजोर राज्य थियो। यस्तो ठाउँका राजाले एकीकरण अभियान सुरु गर्ने परिकल्पना गर्नु नै असंभव छ। त्यतिबेला भुटानका देवाधर्मका एक लामा भिक्षुलाई गोरखाका राजा नरभुपाल शाहले मेरो काममा सहायता गरिदिनु, तिमीलाई जग्गाजमिन दिन्छु भन्दाखेरी उनले “तिम्रो राज्य कति ठूलो छ भनेर मलाई जमिन दिन्छु भन्यौ” भनेर भनेको यहाँ स्मरणीय हुन आउँछ। आफ्नो राज्य सानो भएर सीमा विस्तारका लागि नरभुपाल शाहले धेरै पटक नजिकका राज्यहरुमा हमला गर्दा पनि जित्न नसकेपछि बहुलाएर आफ्नो घरको बाहिरको पिँढीमा बसेर त्यहीँ प्राणत्याग गरेका थिए। पृथ्वीनारायण शाहले दिएको उपदेश भनिएको पुस्तकमा लेखिएको छ कि पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरमा साढुदाइ दिगबन्ध सेनसित कचकच भएपछि उनीसित युध्द गर्ने चुनौति दिएर फर्केका थिए। फर्कने क्रममा राप्ती नदी किनार हुँदै मल्ल राजाहरुले चिन्लान् भन्ने डरले घुम अोढ्दै चन्द्रागिरी पर्वत पुगेका थिए। त्यहाँ पुगेपछि आफूसँगै आएका भानु जैसी, कुलानन्द जैसीलाई उनले सोधेका थिए- नेपाल भनेको कुन हो ? अनि उनीहरुले त्यो भादगाउँ, त्यो ललितपुर र त्यो कान्तिपुर भनी देखाइदिएका थिए। यहाँको वैभव, अन्न प्रशस्त फल्ने समथर भूमि देखेर उनमा लोभलालच जन्मिएको थियो। त्यतिबेला नै उनले विचार गरेका थिए कि म यो उपत्यकाको राजा हुन पाएको भए कति हुन्थ्यो ? यहाँको कला कौशलले भरिपूर्ण दरबार, घर, मन्दिर, तिब्बतसँगको राम्रो व्यापारिक सम्बन्धका कारण राम्रो आर्थिक समृध्दिले भरिएको ठाउँमा पृथ्वीनारायण शाहको गिध्ददृष्टि परेको यसले पुष्टि हुन्छ। त्यतिबेला यहाँको कलाकौशल यति उच्चस्तरमा थियो कि यहाँ जति घर थिए, त्यति नै मन्दिर थिए र जति मानिस थिए, त्यति नै मूर्ति थिए। बहाः, ननि, चुकका रुपमा विकास गरिएका व्यवस्थित बस्ती, त्यहाँभित्र आवश्यक पर्ने पानी (इनार वा ढुंगेधारा) , पूजा गर्नलाई मन्दिर/ देवदेवी, अन्न, लुगा सुकाउन फराकिलो ठाउँ- सबैको व्यवस्था गरिएको थियो। यस्तो शहरी विकासलाई आज पनि वास्तुकलाको उत्कृष्ट नमूनाका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गर्दै आएको छ।
शासक
यो ठाउँ कति राम्रो थियो भनी पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा लेखिएका यी वाक्यले पनि प्रष्ट पार्छ- “त्यो तीन सहरको कालिगढीका विभिन्न काम हेर्दा मानिसहरु त्यसै लठ्ठ हुन्छन्” त्यस्तो ठाउँ चन्द्रागिरी पर्वतबाट हेर्दै जुंगा मुसार्दै गरेका बेला उनीसित रहेका दुई जैसी ब्राम्हणले “महाराज, तपाईँको नेपाल खाल्डोको राजा हुने इच्छा अवश्य पूरा हुनेछ” भनेका र पृथ्वीनारायण शाहले “तिमीहरुलाई कसरी थाहा भयो?” भनेर सोध्दा उनीहरुले “हजुरको अनुहारले भनिरहेको छ” भनी भनेको कुरा त्यही पुस्तकमा लेखिएको छ। त्यसपछि नै उनले आफ्ना अन्तपाल (सीमारक्षक) रणजित बस्न्यात, वीरभद्र पाठक, मानसिंह रोकाहालाई “नेपालमा प्रहार गर्ने विचार गरेको छु, के विचार छ ?” भनी सोधेका थिए। त्यतिबेला उनीहरुले मनासिब विचार भनी सल्लाह दिएका थिए। त्यसैगरी पृथ्वीनारायण शाहले आफ्ना मामासित पनि यसबारेमा छलफल गर्दा उनले पनि नेपालमा हमला गर भनेर सल्लाह दिएका थिए, एकीकरण गर भनेर हैन। यो ठाउँ कृषि उत्पादनका लागि पनि महत्त्वपूर्ण थियो। यसले पनि प्रमाणित गर्छ कि पृथ्वीनारायण शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन। नेपालका बारे फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले प्रमाणहरु सहित राखेर “नेपाल” पुस्तक लेखेका छन्। सिल्भाँ लेभीका अनुसार तिब्बतका विभिन्न गुम्बामा रहेका धनको लोभमा धर्मको नारा दिँदै त्यहाँ पनि गोरखा सैनिकहरु हमला गर्न गएका थिए। तर चिनियाँ फौजले नराम्रोसित लखेटेपछि सम्झौता गर्न बाध्य भएका थिए। त्यसपछि हरेक पाँच वर्षमा एक पटक चिनिया बादशाहलाई देव मञ्जुश्रीका अवतार भन्दै कर तिर्न जानु परेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ। पृथ्वीनारायण शाहले सिमाना विस्तार गर्नका लागि सैनिक गठन गरेका बेला सेनामा लिन सकिने, मिल्ने भएभरका मानिसहरु जम्मा गर्दा पनि १३०० भन्दा बढी संख्या पुर्याउन सकेका थिएनन्। पहिलो पटकको कीर्तिपुर हमलामा शक्ति बल्लभ सरदारले भारतको मैदानबाट ल्याएका १२०० जवान फौज प्रयोग गरेका थिए। यसले पनि गोरखाको हैसियत के थियो भनी देखाउँछ। त्यतिबेला इटालीका शासक मेजिनीले सन् १८७१ मा घोषणा गरेरै अरु राज्यसित मिलेर एकीकरणको पाइला अगाडि बढाएका थिए, तर यहाँ त्यसो भएको हैन। पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा कतै पनि एकीकरण गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन। इतिहास सँधै तरवारले लेखिन्छ। जित्नेको नाममा रामायण लेखिन्छ, हार्ने रावणलाई राक्षस घोषणा गरिन्छ। सीतालाई जंगलमा पठाउने राम नै मर्यादापुरुषोत्तम हुन्छन्। पृथ्वीनारायण शाहलाई त्यसैले वडा महाराजधिराज भनाइएको हो। यदि एकीकरण नै गर्ने भनी पाइला चालेका नै भए हारेको ठाउँका सेनालाई शत्रुका सैनिकलाई पनि नगरिने व्यवहार नगर्नु पर्ने हो। तर पृथ्वीनारायण शाह अति नै क्रुर, तानाशाह भएर निस्के।