Friday, April 1, 2016

गोरखा राज्यको स्थापना

गोरखामा शाहवंशको स्थापना हुनुभन्दाअघि रजाइँ गरिरहेका खड्का राजाहरूलाई जातीय भेदभाव, दमन र धार्मिक उच्छृङ्खलताको कारणले गोर्खाका बुज्रुकहरू क्रुद्ध भई राज्यच्यूत गराई कुनै सुयोग्य व्यक्तिलाई राजा बनाउन चाहिरहेको अवस्थामा द्रव्य शाहको सम्पर्क गोरखाली जनतासँग हुन गयो । गोरखकाली जनता उनको ओजस्वी व्यक्तित्वबाट प्रभावित भई उनलाई राजा बनाउने तरखरमा लागे । त्यो समयमा लिगलिगे भन्ने ठाँउमा घले थरका मगरहरूले राज्य गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमीको दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रत्याशित रूपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगेमाथि विजय हासिल गरेलगतै गोरखामा आक्रमण गरे, तर गोरखालीहरूले द्रव्य शाहको तीब्र प्रतिरोध गरे । १५ दिनसम्म युद्ध गर्दा पनि विजय हुन नसकेको कारणले द्रव्य शाह लिगलिग फर्कन बाध्य हुनुप¥यो । द्रव्य शाह निकै महत्वकांक्षी भएकोले प्रथम पराजयले उनको उत्साहलाई दमन गर्न सकेको थिएन भने भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर खनाल, गंगाराम राना, गजानन भट्टराई, केशव बोहरा, मुराली खवासहरूले उनको उत्साहलाई बढाइरहेकाथिए । द्रव्यशाहका सैनिकहरू थापा, भुषाल, मास्के, रानाहरूसमेतले गोरखाका राजाको दरबारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हातबाट खड्का राजाले वीरगति प्राप्त गरे । यसप्रकार वि.स.१६१६ भाद्र २५ मा द्रव्य शाह गोरखाका राजा भए ।

गोरखा राज्य


लमजुङ्गे राजा यसोब्रह्मका छोरा क्षेत्रीय राजा द्रव्यशाह वि.स.१६१६ मा गोरखाको राजगद्दीमा बसेपछि नै गोरखा शाहवंशीय राज्यको रूपमा विकास भयो । गोरखाको स्थापनापछि मात्र पूर्वका सेन राज्यहरू, काठमाडौँ उपत्यकाका मल्ल राज्यहरू, बाइसी, चौबीसेभन्दा गोरखा राज्य सशक्त र सङ्गठित भएकाले एकीकरणको अभियान यसले सफलतापूर्वक सञ्चालन ग¥यो । केही राज्यहरू गोरखाभन्दा बलिया भए पनि मध्यकालको ‘गुहार युगे राजनीति’को फेरोफन्दोमा परी मजबुत हुनसकेका थिएनन्  गोरखाले कूटनीतिक चालबाजी सुरूदेखि नै गर्दै थियो । यस राज्यमा द्रव्य शाह, राम शाह, नरभुपाल शाह र पृथ्वीनारायण शाहजस्ता प्रतापी राजाहरूले राज्य गरेका थिए । नेपाल एकीकरणको प्रयास मध्यकालीन नेपालमा भएपनि आधुनिक नेपालको थालनीपछिमात्र यो कार्य सम्पन्न भएको थियो । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गर्नुअगाडि लमजुङ्गसँग मैत्री सन्धि गरे । सन् १७४०ई. को जनवरी महिनामा भएको यो सन्धिमा आपसमा अनाक्रमण र अर्को देशले आक्रमण गरेमा दुवै देश एक भएर लड्ने कुरा उल्लेखथियो । पृथ्वीनारायण शाह छिमेकी दुश्मन राज्यसँग मैत्री सन्धि गर्न सफल भएकाले उपत्यका आक्रमण गर्ने योजना राम्ररी अगाडि बढेको हो । त्यसैगरी सन् १७४१ मा पृथ्वीनारायण शाहले भक्तपुरका राजा रणजीत मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसेर अर्को छिमेकीसँग मैत्री सम्बन्ध स्थापना गरेका थिए । पृथ्वीनारायण शाहले सन् १७४३ मा नुवाकोट आक्रमण गरे । नुवाकोट त्यस समयमा काठमाडौँका राजा जयप्रकाश मल्लको अधीनमा थियो र उनीहरूसँग गोर्खालीका भन्दा राम्रा र आधुनिक हतियारहरू भएकाले पृथ्वीनारायण शाहको नुवाकोट आक्रमण असफल भएको थियो । दोश्रो पटक २५ सेप्टेम्बर १७४४ ई. मा गोरखाली सेनाले त्रिशुली बिहानै पार गरी नुवाकोटको सबभन्दा अग्लो स्थल महामण्डलमा दुईतिरबाट आक्रमण गरेर नुवाकोटलाई आफ्नो बनायो । यसै क्रममा पृथ्वीनारायण शाहले बेलकोटमाथि पनि विजय प्राप्त गरे

No comments:

Post a Comment