Friday, April 1, 2016

हजार अमूल्य ग्रन्थ ध्वस्त

गोरखालीहरुको यस्तो सन्काहा कामकारबाहीले गर्दा नै चिनियाँ सम्राट किएन लोङ (सन् १७३६-१७९६) ले आफ्ना उत्तराधिकारीहरुलाई यसो भनेका थिए- “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू” भक्तपुर पनि जितिसकेपछि पृथ्वीनारायण शाहले यहाँ निकै लुटपाट मच्चाएका थिए।इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा यहाँ उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए। नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरुले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दु धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए। त्यसैले पृथ्वीनारायण शाह र विदेशीमा के भिन्नता भयो ? पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विदेशी क्रिश्चियनहरुलाई मात्र हैन, ललितपुरका १२ स्थानीय बासिन्दा क्रिश्चियनहरुलाई समेत देश निकाला गरेका थिए, अनि बौध्दमार्गीहरुलाई हेला गर्ने क्रम सुरु गरेका थिए। 

ग्रन्थ


जबकि उपत्यकाका आदिवासी भनेका बौध्दमार्गीहरु पनि हुन्। राज्य जसले जिते पनि ग्रन्थ भनेको सबैको साझा हुन्। तर विजयको नशामा पागल भएका शासकले यस्तो कुरालाई विचार गरेनन्। त्यति पुस्तक जलाइसकेपछि पनि बाँकी भएका पुस्तकहरु मात्र वीर शमशेरको पालामा पुस्तकालय बनाएर राष्ट्रिय अभिलेखालयमा राखिएका हुन्। यहाँ के कुरा पनि भन्न जरुरी छ भने राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ? मल्लकालमा अ‍ौद्योगिक क्रान्तिको वातावरण तयार भइसकेको थियो, तर पृथ्वीनारायण शाहले गरेर आजसम्म हुन सकेन भन्ने तथ्यलाई यसबाट पनि पुष्टि हुन्छ कि मल्लहरुले राम्राराम्रा नक्साहरु समेत बनाएर विकास गरिसकेका थिए, जसको सुरुवात जयस्थिति मल्लले गरेका थिए। त्यस्तो नक्साहरुलाई अंग्रेजहरुले समेत प्रशंसा गरेका थिए। त्यही नक्साका आधारमा गोरखालीहरुलाई अरु ठाउँहरुमा हमला गर्न पनि निकै काम आयो। त्यसैगरी थ्यासफूमा कोरिएको भक्तपुरको न्यातपोल मन्दिरको चित्र, जुन जर्मन नागरिक बर्नहार्ड कोल्भरको हातमा पुगिसकेको छ, आजभोलि युरोपमा प्रयोग भइरहेको मोडुल स्केलमा कोरिएको हो। त्यतिबेलै भवनको नक्सा बनाउने बेलामा यस्तो स्केल राम्रोसित प्रयोग भइसकेको यसले देखाउँछ। यसबाट प्रष्ट हुन्छ कि नेपालको वास्तुकलाको विकास चरण कति माथि पुगिसकेको थियो भनी।

No comments:

Post a Comment