Friday, April 1, 2016

सिम्रौनगढको कर्णाटक राज्य

सिम्रौनगढ नारायणी अञ्चलको बारा जिल्लामा पर्दछ । यसको प्राचीन नाम सिमरा–वनगढ थियो । त्यसबेला ठूला बस्ती भएका सबै क्षेत्रहरू सुरक्षाको हिसाबले गढ (किल्ला) को रूपमा परिणत गरिएका हुन्थे । यस्ता किल्लाहरू जङ्गलको बीचमा समेत बनेका हुन्थे । वनभित्र बनेको गढलाई ‘वनगढ’ वा ‘वनदुर्ग’ भनिन्थ्यो । जुन ठाँउको वनमा सो गढ बनेको हुन्थ्यो त्यही नाम विशेष प्रचलित हुन्थ्यो । सिमराको वनमा रहेको गडरूपको बस्ती भएकाले नै ‘सिमरा–वनगढ’ भनिएको हो । यही शब्द पछि अपभ्रंश भई सिम्रौनगढ भएको हो । सिम्रौनगढ वरपरको सम्पूर्ण क्षेत्र त्यसबेला तिरहुतको नामले प्रसिद्ध थियो । काठमाडौँ उपत्यकाका तत्कालिक प्रमाणहरूमा भने यो क्षेत्रलाई ‘डोयराज्य’ भनिएको पाइन्छ । पश्चिमको खस राज्यको स्थापना भएताका नै दक्षिण र पूर्वी तराई भेक समेटेर कर्णाटकवंशको डोप (तिरहुते राज्य खडा भएको पाइन्छ । यसको राजधानी सिम्रौनगढ (सिमरा वनगढ) अर्थात सिमरामा थियो । तिरहुतमा स्थापित कर्णाटक राज्य नान्यदेवले वि.स. ११५४ (ई.स.१०९७) मा स्थापना गरेका थिए । यो स्वतन्त्र राज्यको अस्तित्व करीब २२९ वर्ष जति रह्यो र ई.स. १३२६ मा विघटन हुन गयो । यस राज्यमा शासन गर्ने प्रमुख शासकहरू नान्यदेव र हरिसिंहदेव थिए । न्यायदेव दक्षिणी भारतको कर्णाटक क्षेत्रका निवासी थिए । यिनी दक्षिणी भारतका चालुक्य शासकका सेनापति थिए । चालुक्यले उत्तरी भारतर्फ विजय अभियान चलाउँदा न्यायदेव यसतर्फ आएका थिए । पछि यिनी आफैंले सिम्रौनगढलाई केन्द्र बनाई यस क्षेत्रमा राज्य स्थापना गरेको पाइन्छ । न्यायदेवपछि क्रमशः गङ्गादेव,नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भुपालसिंहदेव र हरिसिंहदेव आदि शासकहरूले सिम्रौनगढमा शासन गरे ।

सिम्रौनगढ


हरिसिंहदेव कर्णाटकवंशका अन्तिम शासक हुन् । यिनको शासनकालमा वि.सं. १३८ मा दिल्लीका मुसलमान बादशाह गयासुद्दीन तुग्लकले आक्रमण गरेर सो राज्य ध्वस्त पारेका थिए । उपत्यकाका मल्ल राजाहरूको कुलदेवीका रूपमा पूजा गरिने तुलजा भवानी वास्तवमा कर्णाट राजाहरूकै कुलदेवी हुन् । हरिसिंहदेवकी रानी देवलदेवी शरणार्थीको रूपमा उपत्यका पस्दा आफूसित तुलजा भवानीको कलश पनि लिएर आएकी थिइन् । देवदेलवी र उनका छोरा जगतसिंहको उपत्यका प्रवेशपछि कर्णाटकको प्रभाव उपत्यकामा परेको थियो जुन स्वभाविक नै थियो । हरिसिंहदेवको मृत्यु भएताका उपत्यकामा रूद्र मल्ल र अरि मल्लको संयुक्त शासन चलिरहेको थियो । अरि मल्ल चाहिँ नाम मात्रका शासक थिए । रूद्र मल्लले हरिसिंहदेवको मृत्युपछि उनकी रानी देवलदेवी र छोरा जगतसिंहलाई आफ्नो दरबारमा शरण लिएका थिए । देवलदेवीले आफ्नो साथमा ल्याएका तलेजुको कलश दरबारमा स्थापित गरिन् । पछि नेपालका शासकहरू पनि तलेजुका उपासक बने । देवलदेवीका छोरा कुमार जगतसिंहको विवाह मल्ल राजकुमारी नायकदेवीसँग सम्पन्न भयो र यस जोडीबाट राजल्लदेवीको जम्न भयो । यिनै राजल्लदेवीसँग जयस्थिति मल्लको विवाह भएको हो ।

No comments:

Post a Comment