श्रोतहरूको आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए । चितोरगढका चन्द्रवंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औं वंशका राजा भूपति राणाजीका उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जयनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे । भूपाल नेपालको रिडी हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए । उनीहरू क्रमश: खान्चाखान र मिचाखान नामले चिनिन्थे । खान्चाखान ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । उसको कान्छो भाइ मिचाखान पहिले नुवाकोट(स्याङ्जा)मा गएर राज्य गर्न थाले ।[१] कान्छा अजयसिंह(मिचाखान)बाट विचित्र खान र कुलमन्डन खान जन्मे । कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी "शाह" जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा यशोब्रम्ह शाहलाई ल्याई राजा बनाएका थिए ।यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाहले सन् १५५८मा गोर्खा, लिगलिगकोटका घले राजवंशलाई समाप्त गरी पूर्वतर्फ शाहवंशीय राज्यविस्तारको वीजरोपण गर्दै सन् १५५९[२] मा (विसं १६१६)[३] गोर्खा राज्यको स्थापना गरेका थिए । तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरूले राज्य गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमिका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रयाशित रूपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगकोट माथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिनसम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन । द्रव्य शाह निकै महत्वाकांक्षी भएकोले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन । भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर अनाल गङ्गाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरूले उनको उत्साहलाई बढाईरहेका थिए । द्रव्य शाहका सैनिकहरू, थापा, भुसाल, मास्के, रानाहरू समेतले गोरखाका राजाको दरबारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट खड्का राजाले विरगति प्राप्त गरे यसप्रकार विसं १६१६ भाद्रमा द्रव्य शाह गोरखाका राजा भए ।[३]
प्राचीन कालदेखि नै काठमाडौं कृषि तथा तिब्बत र भारतवीचको व्यापारका निम्ति महत्वपूर्ण रहेकाले यसमा धेरैका आँखा लाग्दै आइरहेको थियो । सन् १२८७मा पश्चिम नेपालको खस राज्यका राजा जितारी मल्लले काठमाडौं उपत्यकालाई तीन पटक आक्रमण गरेका थिए । यो कार्यलाई शाहवंशीय राजाहरूले पनि निरन्तरता दिए । गोर्खाका राजा नरभूपाल शाहले सन् १७३७मा काठमाडौं आक्रमण गरेका थिए । तर उनी यस आक्रमणमा पराजित भए । यस पराजयमा असन्तुष्ट बनेका राजकुमार पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकालाई लिन नयाँ रणनीति लिएको देखिन्छ । उनले सन् १७४१मा काठमाडौं उपत्यकाको भ्रमण गरे । त्यसवेला काठमाडौंकै सबै भन्दा पुरानो र महत्वपूर्ण राज्य भक्तपुरका राजा रणजीत मल्लका छोरा राजकुमार बीरनरसिं मल्लसंग मित लगाई भक्तपुर राज्यलाई मितेर सम्बन्धमा आबद्ध पारे । जयप्रकाश मल्लले पनि उनीसंग मित लगाई गोर्खा राज्यसंगको सम्बन्ध सुदृढ पार्न चाहेको देखिन्छ ।
No comments:
Post a Comment